नियम १०
निर्णण मिसिल तथा अन्य कागजात झिकाउने
: (१) अदालतमा उजुर वा पुनरावेदन दर्ता भएपछि रजिष्ट्रारले सम्बन्धित निकाय, प्रतिष्ठान, संस्था वा रोजगारदाताबाट कर्मचारी विनियमावली भए सो विनियमावली र निर्णय सहितको सुरु मिसिल लगायतका आवश्यक सक्कल कागजात झिकाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम झिकाइएको - निर्णय मिसिल लगायतका आवश्यक कागजात प्राप्त भएको सात दिनभित्र रजिष्ट्रारले त्यस्तो मुद्दा इजलास समक्ष पेश गर्ने गरी पेशी चढाउनु पर्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कारणवश मिसिल प्राप्त हुन नआएमा वा पटक- पटक पत्र बुझेर पनि सम्बन्धित; निकायले मिसिल नपठाएमा रजिष्ट्रारले त्यस्तो मुद्दा पेशी चढाई इजलासबाट भएको आदेश बमोजिम गर्नु पर्नेछ।
(४) अदालतले मिसिल वा मुद्दा सम्बन्धी लिखत पठाउन कुनै निकाय वा प्रतिष्ठान वा रोजगारदातालाई आदेश दिएकोमा मनासिब समयभित्र त्यस्तो आदेशको पालना नभएमा बा अनुचित हैरानी गरेमा अदालतले त्यस्तो निकाय वा प्रतिष्ठानको प्रमुख, रोजगारदाता वा जिम्मेवार कर्मचारीलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
(५) उपनियम (४) बमोजिम लेखी आएमा सम्बन्धित निकायले प्रचलित कानून बमोजिम कारबाही गरी सोको जानकारी अदालतलाई दिनु पर्नेछ।